विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ५ लाख सहयोग गरेको छ । दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्‌को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले सो रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस लाई हस्तान्तरण गर्नुभएको हो।

फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको थियो । पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेशनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए। प्रवक्ता पौडेलले भने भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो । उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं । उहाँहरुको जस्तो पारदर्शी र प्रभावकारी अभियानमा सहभागी हुन पाउँदा हाम्रो पार्टी खुसी व्यक्त गर्दछ ।’

रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विवेकशील नेपाली दलले गरेको सहयोग प्रति धन्यवाद दिदैं, सहयोग गर्न ईच्छुक संघसंस्था तथा ब्यत्तिहरुलाई सहयोग गर्नका लागी पनि आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष कट्टेलले भने विवेकशील दलको बारेमा मैले नजिकबाट बुझिरहेको छु र यस दलको सकारात्मक कार्यहरुको म प्रशंसा पनि गर्छु । सहयोग रकम हस्तान्तरण कार्यक्रममा विवेकशील नेपाली दलको पहिलो राष्ट्रिय परिषद्को लागि भेला भएका विभिन्न जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।

 

टिप्पणी गर्नुहोस