तराईमा परेको अविरल बर्षाका कारण तराईका केही क्षेत्र डुवानमा परेको र उनिहरुको घर समेत बगाएको जस्ता समाचार बाहिरिना साथ दोश्रो दिनदेखीनै निरन्तर राहत बितरण तथा उद्धारमा उत्रीएका नेपालका चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था एकदमै पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो । 

आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुदै भने ‘फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’


बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ले उहाँहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ । 


राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ । 


बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण संगैं केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको कामपनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्ती सफलतापुर्वक निर्माण सम्पन्न गरि नेपालीहरुको विश्वास जितिसकेको छ । 

 

 

टिप्पणी गर्नुहोस